एनआरएनएले रेडक्रस बांकेलाई हस्तान्तरण गर्‍यो अत्याधुनिक मोबाईल ब्लड बस

नेपालगन्ज ! गैर आवासीय नेपाली संघद्वारा नेपाल रेडक्रस सोसाईटी बांकेलाई अत्याधुनिक मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । शुक्रबार नेपालगन्जमा आयोजित एक विशेष कार्यक्रमबाट गैर आवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष डा.बद्री केसीले उक्त ब्लड बसको हस्तान्तरण गर्नु भएको हो।

 

नेपालगन्जको सुनाखरी रेस्टुरेन्टको हलमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी बांके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दिन राई रहनु भएको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष डा.बद्री केसी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का लगायत हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष डा. बद्री केसीले एनआरएनहरु सधैं नेपाल र नेपालीको सुखदुःखका सारथि रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो-“हामीले विदेशमा रहेका तपाईंहरुकै छोराछोरी,दाजुभाइहरुको अभियानबाट संकलित रकमबाट यो ब्लड संकलन बस आज नेपाल रेडक्रस सोसाइटी बांकेलाई हस्तान्तरण गरेका हौं। नेपालमा रहेका हाम्रा आमाबाबु,दाजुभाइहरुको हितका लागि यो परोपकारी काम गर्न पाएकोमा खुसी छौँ।”

डा.केसीले उक्त रकम एनआरएनए कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको पहलमा भएकोपनि उल्लेख गर्नुभयो। मुक्तदा मुसलमान नेपालगन्ज निवासी हुनुहुन्छ।

उहाँले लुम्बिनी प्रदेशमा आफुहरुले बिगतदेखि नै विभिन्न रुपमा परोपकारी सहयोगहरु गरिरहेको उल्लेख गर्नुभयो। डा.केसीले कोभिड-१९ को समयमा विदेशमा रहेका यस प्रदेशका श्रमिक दाजुभाइहरुलाई स्वदेश फर्काउन देखि प्रदेश सरकार,स्थानीय सरकारका विभिन्न निकायलाई अत्यावश्यक स्वास्थ्य सामागीहरु हस्तान्तरण गरेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि एनआरएनएले यो अभियान जारी राख्ने उल्लेख गर्नुभयो।

उक्त कार्यक्रममा अतिथिका रुपमा रहनु भएका गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका उपाध्यक्ष रामशरण सिम्खडाले आफुहरुले नेपाली आमाबुबा,दाजुभाई,दिदिबहिनीहरुको हित चाहेको बताउनु भयो। आजको यो ब्लड संकलन बस हस्तान्तरण यसको उदाहरण रहेको उल्लेख गर्नुभयो। उक्त कार्यक्रममा अर्का अतिथि गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका पूर्व उपाध्यक्ष एवं सल्लाहकार टिबी कार्कीले गैर आवासीय नेपाली संघ यहाँहरुकै छोराछोरी,दाजुभाईहरुको संस्था भएकाले हामीले आफुले कमाएको केही रकम छुट्याएर परोपकारी कामहरुमा लगाउने गरेको बताउनु भयो।

 

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दिन राईले गैर आवासीय नेपाली संघको यो परोपकारी कामबाट आफू लगायत सिङ्गो नगरबासी खुसी भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनहरुमा पनि यस्तो परोपकारी अभियान जारी राख्न आग्रह सहित विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

उक्त कार्यक्रमका अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी बांकेका सभापति गोवर्धन सिंह सम्झनाले एनआरएनको यति ठूलो सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आफुहरुलाई ब्लड संकलन बस अत्यावश्यक रहेकोमा एनआरएनएहरुको परोपकारी मनले त्यसको पुर्ती गरिदिएकोमा एनआरएनएहरुलाई धन्यवाद दिनुभयो।

गैर आवासीय नेपाली संघले उक्त अत्याधुनिक ब्लड संकलन बस करिब ७० लाखको लागतमा खरिद गरेको थियो।

शुक्रबारको उक्त कार्यक्रममा पूर्व सभासद शान्ता चौधरीको समेत विशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघबाट अध्यक्ष डा.बद्री केसी,उपाध्यक्ष रामशरण सिम्खडा,सल्लाहकारहरु टिबी कार्की र भैरव ढकाल,दिनेश पोखरेल(क्षेत्रीय कोअर्डिनेटर ओसियाना),हेमन्त काफ्ले(आइसिसी सदस्य),भवानी ओली(विधान संशोधन समिति अध्यक्ष),राजेन्द्र कुमार राउत(मुख्य कार्यकारी अधिकृत),सत्यनारायण झा(उपाध्यक्ष माल्टा),कुनाल मिश्रा(अधिकृत),तीर्थ भट्टराई(अभियान्ता) समेतको उपस्थिति थियो।