एनआरएनए महिला विभागको सक्रियतामा लण्डनमा एक गजल सांझ सम्पन्न

काठमाडौं ! भूकम्प प्रभावित पश्चिम नेपालका महिला बालबालिकाका लागि सहयोग जुटाउन मंगलबार सांझ लण्डनमा एक गजल सांझ सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागको सकृयतामा सम्पन्न सो कार्यक्रमको संयोजन युरोप क्षेत्रकी क्षेत्रीय महिला संयोजक प्रसुना कंडेलले गर्नुभएको हो ।

ह्यारोस्थित ब्लु रुम स्पोर्टस्मा आयोजित कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडाले च्यारिटी कार्यक्रम गरेकोमा महिला विभाग तथा फोरमको प्रशंसा गर्नुभयो । उहाँले भूकम्प पीडितको लागि सानो सहयोगले ठूलो आत्मवल पुग्ने बताउँदै आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा लोकप्रिय गजल गायक राज सिग्देलले ‘उ जितेर गई वा हारेर गई’, लगायतका आफ्ना झन्डै दर्जन लोकप्रिय गजल सुनाउनु भएको थियो ।

कार्यक्रममा सन्जिता देउजा एवं नारायण गाउंले, कृष्ण भट्ट, फणिन्द्र भट्टराई, बासु लामिछाने लगायतले पनि गजल, कविता सुनाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख रोशन खनालले भूकम्पपीडित महिला बालबालिकाका लागि च्यारिटी गर्न जुटेको गैरआवासीय नेपाली संघको प्रशंसा गर्नु भएको थियो ।

विशेष अतिथी लन्डन बरो अफ ह्यारो मेयर काउन्सिलर रामजी चौहानले च्यारिटी लक्षित कार्यक्रमको सराहना गर्दै कार्यक्रमले सामाजिक सदभाव अभिवृद्धि गर्ने भएकाले आफूले ऐक्यवद्धता जनाएको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथी ग्रीनवीच बरो, काउन्सिलका डेपुटी मेयर जित रानाभाटले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम संयोजक प्रसुनाले सहभागी र प्रायोजक सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले रुकुम तथा जाजरकोटका भूकम्प पीडित महिला बालबालिकाका लागि न्यानो कपडा, पछ्यौरा, स्यानिटेरी प्याड, चप्पल र दूध बाँडन सानै भएपनि प्रयास गरिएको बताउनुभयो । कंडेलले कार्यक्रमबाट बचेको पैसा तत्तकालै भूकम्प पीडितको सहयोगार्थ नेपाल पठाइने जानकारी दिनुभयो । यसअघि जाजरकोट र पश्चिम रुकुममा भूकम्प गए पछि गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको टोली प्रभावित क्षेत्रमा राहत वितरण तथा स्वास्थ्य शिविर संचालन गरेको थियो ।

गैरआवासीय नेपाली संघ
महिला विभाग