एनआरएनएको निर्वाचन गएरातिबाट सुरु

काठमाडौं ! गैरआवासीय नेपाली संघको निर्वाचन बुधबार राति १२ बजेदेखि सुरु भएको छ ।  काठमाडौंमा जारी ११ महाधिवेशनमा नेतृत्व चयन गर्न संघले यसपटकदेखि अनलाइनमार्फत मतदान दिन सकिने व्यवस्था गरेको छ । संघको निर्वाचन आयुक्त चिरञ्जीवी ढकालका अनुसार बुधबार राति १२ बजेदेखि बिहीबार मध्याह्न १२ बजेसम्म विदेशमा रहेका मतदाताले अनलाईमार्फत मतदान गर्न सक्नेछन् ।

काठमाडौंमा नै उपस्थित भएका मतदाताहरूले भने बिहीबार बिहान ११ बजेदेखि मतदान गर्ने कार्यक्रम छ । काठमाडौंमा भौतिक रूपमा नै उपस्थित भएका मतदाताले कार्यक्रमस्थल सोल्टीमोडस्थित सोल्टी होटेलमा गएर मतदान गर्न सक्नेछन् । तर, भौतिक रूपमा उपस्थित भएका मतदाताले पनि अनलाइन नै मतदान गर्नेछन् । भौतिक रूपमा उपस्थित हुनेले साँझ ६ बजेसम्म मतदान गर्न सक्नेछन् । मतदान सम्पन्न भएको एक घन्टाभित्रमा परिणाम सार्वजनिक गरिने आयुक्त ढकालले बताए ।