एनआरएनए अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौं ।  गैरआवासीय नेपाली सङ्घ एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ। आइतबारसम्म महेश श्रेष्ठ, आर के शर्मा र बद्री केसीले मनोनयन दर्ता गराएका एनआरएनए निर्वाचन समितिले जनाएको छ।

यसअघि ५ जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी रबिना थापाको मनोनयन दर्ता भएको छैन। नेपाली समय अनुसार सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय छ। सबै पदहरूमा गरी हालसम्म ५ सय भन्दा बढीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा उम्मेदवारी दिनेले पाँच–पाँच लाख रुपैयाँ मनोनयन शुल्क तिर्नुपर्छ ।

एनआरएनएको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौँमा हुँदै छ। कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका रहेको एनआरएनएले जनाएको छ।

एनआरएनएले पहिलो पटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको छ। अनलाइन मतदान हुने भएकाले मतदाताले मतदान गर्न महाधिवेशनस्थल नेपालमा आउनु नपर्ने भएको छ।तर उम्मेदवारले उम्मेदवारी दिन र उम्मेदवारका प्रस्तावक र समर्थकले भने सनाखतका लागि महाधिवेशन स्थल नेपालमा अनिवार्य आउनुपर्ने व्यवस्था गरिएको छ ।