गैरआवासीय नेपाली संघ र आइएलओको सहकार्यबाट करिव २८ हजार श्रमिकहरु प्रत्यक्ष लाभान्वित

काठमाडौं ! गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको ‘थ्री आर’ अर्थात्, ‘सहायता, स्वदेश फिर्ता र पुनःस्थापना’ प्रोजेक्टमार्फत झण्डै २८ हजार श्रमिकले प्रत्यक्ष लाभ लिएका छन् ।

संघअन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा विदेशमा अलपत्र नेपालीका लागि चलाएको यो कार्यक्रमार्फत २७ हजार ९५६ जना श्रमिक लाभान्वित भएका हुन् ।

संघले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलोको १० करोड आर्थिक सहयोगमा यो परियोजना सञ्चालन गरेको थियो । सन् २०२० को अगष्टदेखि सुरु भएको परियोजना २०२२ को फेब्रुअरीसम्म चलेको संघले जनाएको छ ।

कार्यक्रमका संयोजक समेत रहेका संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार यस परियोजना अवधिभर २८ हजार ५५७ नेपाली सूचीकृत भएका थिए । तीमध्ये २७ हजार ९५६ जनालाई सहयोग उपलब्ध गराइएको हो ।

यो कार्यक्रममार्फत खाना तथा बासको व्यवस्था, घर फिर्तीका लागि आंशिक हवाई टिकट, कानूनी साहयता, पीसीआर परीक्षण, मानसिक स्वास्थ्य परामर्शमा सहयोग पुऱ्याइएको डा. केसीले जानकारी दिएका छन् । बताइएअनुसार कार्यक्रममार्फत १२ हजार ५१७ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराइएको थियो । यस्तै विभिन्न कारणले कागजातविहीन भएका ५ हजार २५० श्रमिकलाई डकुमेन्टेसनमा सहयोग पुऱ्याइएको थियो । यसैगरी ३ हजार ६९४ जनालाई खाना र बस्नको व्यवस्था गरिएको थियो ।

कार्यक्रमले ५३१ जनालाई कानूनी सहायता उपलब्ध गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समस्यामा परेका नेपाली श्रमिकमध्ये घर फिर्तीका लागि ७४९ जनालाई पीसीआर तथा ९८७ जनालाई आंशिक हवाइ टिकटको व्यवस्था गरिएको संघले जनाएको छ ।

यो अवधिमा संघले विभिन्न देशमा कैदी जीवन बिताइरहेका २३४ जना नेपालीलाई जेलमुक्त गराएर स्वदेश फिर्ता ल्याउन सफल भएको दाबी संघको छ । दूतावासको समन्वयमा जरिवाना वापतको रकम तिरेर उनीहरुलाई जेलमुक्त गरिएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *