एनआरएनए आइसिसी निर्वाचन चैत्र पहिलो साता हुने

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी चैत ७ र ८ (मार्च २१ र २२ तारिख)मा हुने भएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताका लागि फागुन २०  गते (मार्च ४)लाई समय गते तोकिएको छ ।

गत अक्टोबरमा हुने भनिएको निर्वाचन परराष्ट्रमन्त्रलायको हस्तक्षेपका कारणले रोकिएको थियो । कार्यतालिका अनुसार फागुन ५ देखि १० गतेसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ । फागुन ११ मा मतदाता नामावली प्रकाशन, १२ गतेदेखि १५ गतेसम्म मतदाता नामावलीमाथि दाबी विरोध, फागुन १८ मा दाबी विरोधमाथि निर्णय र १९ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।
फागुन २० र २१ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, फागुन २२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, फागुन २२ र २३ सम्म उम्मेदवारविरुद्ध दाबी विरोध, फागुन २४ मा उम्मेदवारको मनोनयपत्र जाँच तथा उजुरीमाथि निर्णय र फागुन २५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
त्यस्तै फागुन २७ मा उम्मेदवारले मनोनय फिर्ता, २८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चैत ७ गते बिहान १० बजेदेखि चैत ८ सम्म बिहान १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना गरिने प्रमुख निर्वाचन अधिकृत बञ्जराले बताए ।

संघको अध्यक्षका लागि मनोनयन दर्ता दस्तुर १० लाख तोकिएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर सपथ ग्रहण अगाडि बुझाउनुपर्नेछ । एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष सहित ५३ पदका लागि निर्वाचन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *