काठमाडौं ! गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा राधिका गुरुङ (टिका) निर्विरोध निर्वाचित भएकी छन्।
एनआरएनएको १२औँ महाधिवेशन यही मार्च १४-१६ मा काठमाडौँको होटल सोल्टीमा हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीले समुद्घाटन गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय एकता महाधिवेशनमा बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थियो।
महिला उपाध्यक्ष पदमा गुरुङको एक्लो उम्मेदवारी परेको हो। गुरुङले यसअघि एनआरएनएको महिला सचिवको जिम्मेवारी पूरा गरिसकेकी छन्। १०औँ र ११औँ महाधिवेशनबाट दुई कार्यकाल गुरुङले महिला सचिवको जिम्मेवारी पूरा गरेकी हुन्।
१२औँ महाधिवेशनमा भने एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी छन्। गुरुङले निर्वाचित भएपछि, यसअघि महिला सचिव रहँदा महिलाको हक, अधिकार र सशक्तीकरणका लागि गरेको योगदानको कदर भएको महसुस गरेको बताईन् । यो कदरले थप जिम्मेवारीबोध गराएको पनि उनले बताएकी हुन् ।
जिम्मेवारी थपिएसँगै अब अझ खटिएर महिला हक-हित र सशक्तीकरणका लागि काम गर्ने उनले बताइन्। वैदेशिक रोजगारीमा भएका महिला, उनीहरूको सुरक्षित रोजगार, रोजगारीबाट फर्केर आएपछि रिटर्नी सिपको सदुपयोग जस्ता कार्यमा लागिपर्ने गुरुङ बताउँछिन्।
झन्डै ३ दशकदेखि हङकङमा बस्दै आएकी गुरुङले दुई कार्यकाल एनआरएनए हङकङको अध्यक्ष भई काम गरिसकेकी छन्। उनले एनआरएनएको एसिया–प्यासिफिक संयोजकको जिम्मेवारी पनि पूरा गरिसकेकी छन्।
दुई दशकभन्दा बढी समयदेखि एनआरएनएमा सक्रिय गुरुङ हङकङमा स्थापित व्यवसायी र सामाजिक अभियन्ता हुन्। उनले समुदायको एकता, महिला हक(अधिकार र सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा भूमिका निर्वाह गर्दै आएकी छन्।
