विवादित ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउने सरकारको तयारी

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित छवि भएका ल्यारक्याल लामालाई नियुक्त गर्ने तयारी गरेको माओवादी स्रोतले जनाएको छ ।

मंगलबार अपरान्ह सिंहदरबारमा बस्ने मन्त्रीपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्ष बनाउने तयारी गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका लामालाई कोषको उपाध्यक्षमा सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई निर्देशन दिएको उच्च स्रोत बताउँछ ।

दोस्रो संविधानसभाको चुनावमा माओवादीले लामालाई समानुपातिक सांसद बनाएको थियो । उनीमाथि नक्कली नागरिकता र राहदानी बनाएको आरोप लागेको थियो । २०७३ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो । १० करोड रुपैयाँको मागदावी लिएर दायर गरेको मुद्दामा लामा एक करोड रुपैँया धरौटी तिरेर छुटे ।

पदमा रहँदा लामाले आफ्नो अधिकारको दुरुपयोग गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्चस्तरको जीवनयापन गरेको उजुरी अख्तियारमा परेको थियो । दोहोरो नागरिकता र राहदानी विवादमा मुछिएका लामा २०५८ साल पुस १९ गते गुम्बा विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । लामा बैंकको लकरमा १४ राउण्ड गोली भेटिएपछि २०७२ फागुन ३० गते पक्राउ परेका थिए । गोली काण्डको आरोपमा ९ दिन र वैदेशिक रोजगारको मुद्दामा थप दुई दिन गरेर ११ दिन प्रहरी हिरासतमा बिताएका लामा माओवादीकै दबाबमा छुटेका थिए । गोलीकाण्डमा ६६ हजार धरौटी तिरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट छुटेका थिए भने वैदेशिक रोजगारको मुद्दामा ३० लाख धरौटी माग गरेर तारेखमा छाडिदिएको थियो ।

त्यसो त कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा, यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) र सिद्धार्थ महर्जन र कोषका पूर्वसदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षुको नाम पनि चर्चामा छ । साउन ९ गते त्रिपाठीको म्याद सकिएपछि सरकारले कोषको नयाँ उपाध्यक्ष नियुक्त गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *