राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

काठमाडौं ! नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा अन्ततः डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय सिफारिस समितिबाट प्राप्त नाममध्ये पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। समितिमा अर्थमन्त्री संयोजक थिए भने अन्य सदस्यमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर र सार्वजनिक सेवा आयोगका पदाधिकारी थिए।

गभर्नर चयन प्रक्रिया लम्बिँदै जाँदा सरकार चौतर्फी आलोचना र दबाबमा आएको थियो। निवर्तमान गभर्नर महाप्रसाद अधिकारी चैत २३ गते अवकाशमा गएपछि बैंकको नेतृत्व रिक्त रहँदा मौद्रिक नीति, वित्तीय बजार स्थायित्व र नीति निरन्तरतामा अन्योल देखा परेको थियो। यही सन्दर्भमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच निर्णायक छलफल भएको थियो, जसपछि सहमतिको आधारमा पौडेलको नाम अगाडि सारिएको हो।

डा. पौडेल विगतमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका छन्। उनले योजना आयोगमा रहँदा विकास योजना र आर्थिक संरचनामा सुधारका प्रयासहरू गरेका थिए। पछिल्लो संसदीय निर्वाचनमा चितवन–१ बाट कांग्रेसको उम्मेदवार बनेका उनी तेस्रो स्थानमा सीमित भएका थिए।

गभर्नर बन्नुअघि उनको नामसहित निलम ढुंगाना र डा. दिनेश भट्टराई पनि सिफारिसमा परेका थिए। अन्तिम घडीमा राजनीतिक सहमतिअनुसार डा. पौडेलको नाम मन्त्रिपरिषद्मा अनुमोदन भएको हो।