प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार निर्वाचनमा हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको छ।

आयोगले निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको थियो। जसमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको आयोगले जनाएको छ। खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको र सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका संगठित संस्थासँग सम्झौता गरी खरिद गरिएको छ।

५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो।