राष्ट्रिय सभा निर्वाचनका दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडाै – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ । आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ताका लागि आह्वान गरेको हो । आयोगले मङ्सिर २४ देखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।

चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ । यस्तै पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै छ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समयावधि सकिन लागेको हो ।

राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।।