निर्वाचन आयोगको स्पस्टिकरण : ‘लौरो’ चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारलाई दिइँदैन’

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लड्ने कुनै पनि स्वतन्त्र उम्मेदवारहरुले ‘लौरो’ चुनाव चिन्ह नपाउने भएका छन् ।

शुक्रत्रार निर्वाचन आयोगले ‘लौरो’ चुनाव चिन्ह ‘हाम्रो नेपाली पार्टी’ले प्राप्त गरेको अवस्थामा कुनै पनि स्वतन्त्र उम्मेदवारलाई उक्त चुनाव चिन्ह दिन नसकिने प्रष्ट पारेको हो ।

आयोगले प्रष्टीकरणमा भनेको छ, ‘दललाई प्राप्त गरिएको निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारहरुको निर्वाचन चिन्हको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने हुँदा दलको नामबाट लौरो चिन्ह प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचारप्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्तविपरीत देखिएको छ ।’

सामाजिक सञ्जालमा लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको रुपमा जथाभावी प्रचारप्रसार गरिएको भन्दै ‘हाम्रो नेपाली पार्टी’ का अध्यक्ष अध्यक्ष अनन्तराज घिमिरेलाई तीन दिने प्रष्टिकरण पनि माग गरेको छ ।
आयोगले सोधेको प्रष्टीकरणमा भनिएको छ, ‘तपाईको दललाई प्रदान गरिएको निर्वाचन चिह्न लौरो तपाई दलको अध्यक्ष अनन्तराज घिमिरे लगायतका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकाले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिह्न हो भनी प्रचार प्रसार गर्नुभएको हो ?’

आयोगले दल दर्ता गरेर निर्वाचन चिह्न लौरोसमेत प्रदान गरिसकेका अवस्थामा के आधारमा प्रचार प्रसार गरको भन्दै प्रश्न पनि सोधेको छ । आयोगले दलका अध्यक्ष घिमिरेलाई प्रश्न गरेको छ, ‘तपाईको दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची समेत पेश गरी निर्वाचन चिह्न लौरोसमेत प्रदान गरिसकिएकोमा लौरो चिह्न स्वतन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हुँ भनी के कुन आधारमा प्रचार प्रसार गर्नुभएको हो ? त्यसरी स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गर्न मिल्ने हो होइन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *