निर्वाचन आयोग : वाग्मती प्रदेश प्रहरी प्रमुख‚ चितवनका सीडीओ र एसपीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ — निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख‚ चितवनका सीडीओ र एसपीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको छ । ‘तपाईंलाई श्री पुष्पकमल दाहाल (प्रचण्ड) भरतपुर आएको र मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा संलग्न भएको थाहा छ, छैन ?’ आयोगले प्रजिअ तामाङलाई सोधेको छ‚ ‘निज श्री पुष्पकमल दाहाल (प्रचण्ड) भरतपुर पुग्दा तपाईंले वहाँसँग भेट गरी वहाँको कार्यक्रमको जानकारी लिनुभयो, भएन ?’
दाहाल भरतपुर पुग्दा प्रहरी स्कर्टिङलगायत सुरक्षा उपलब्ध गराउन आदेश भएको/नभएको‚ दाहालले चुनावी प्रचार गरिरहँदा त्यसलाई रोक्न आदेश दिएको/नदिएकोबारे स्पष्टीकरणमा सोधिएको छ ।

त्यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई पनि मौन अवधिमा माओवादी अध्यक्ष दाहाल भरतपुर आएको विषयमा स्पष्टीकरण सोधेको छ । आयोगले एक पत्रमार्फत प्रहरी उपरीक्षक अधिकारीलाई अध्यक्ष दाहाललाई चितवनमा प्रहरी स्कर्टिङलगायतको सुरक्षा उपलब्ध गराउने कार्यमा अधिकारीको संलग्नता भएको/नभएको भन्ने विषयमा प्रस्ट्याउन भनेको छ ।

यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुजा सिंहलाई पनि सोहि विषयमा आयोगले स्पष्टीकरण सोधेको छ । ‘पुष्पकमल दाहाल गएराति भरतपुर आइपुगेपश्चात तपाईंले निजसँग भेट गर्नु भयो/भएन ? निज श्री पुष्पकमल दाहालका राजनीतिक कार्यक्रमबारे तपाईंलाई जानकरी थियो,थिएन‚’ पत्रमा सोधिएको छ ।

यसका साथै आयोगले ‘तपाईं स्वयंबाट आचारसंहिताको तदारुकतापूर्वक कार्यान्वयन हुनुपर्नेमा आचारसंहिताको उल्लंघन भइरहँदा सो रोक्न आवश्यक कार्यसमेत नभएको हुँदा निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर प्रश्न उठेकाले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) र उपदफा (३) तथा ऐ. ऐनको दफा ४४ बमोजिम किन कारबाही हुन नपर्ने ?’ भन्दै प्रश्न गरेको छ ।

आयोगले सबैलाई ८ घण्टाभित्र स्पष्टीकरण दिइसक्न अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *