मृत्यु भएका मतदाताको नाम सूचीबाट हटाइएन

तुलसीपुर । दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाएकाले उनीहरूको नाम नहटाइएको हो ।

त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । “स्थानीय तहहरूले मृत्यु भएकाहरूको नाम पठाएनन्”, उनले भने, “त्यसैले पनि मृत्यु भएकाको नाम पनि समावेश हुनसक्छ ।”

दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको उनको भनाइ छ । यहाँका स्थानीय तहहरुले विसं २०७४ यता १८ वर्षमाथिका कति जनाको मृत्यु भयो भनी तथ्यांक तयार पारेर निर्वाचन आयोगलाई नपठाउँदा मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ ।

“उपमहानगरपालिकामा मतदाता नामावलीमा नाम भएका कति जनाको मृत्यु भयो भनेर त्यस्तो तथ्यांक अहिले निकालेका छैनौँ, निर्वाचन आयोगलाई पनि पठाएका छैनौँ”, घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीम चौधरीले भने । निर्वाचन आयोगमा दाबी–विरोध परेकाको तथ्यांक मात्रै पठाएको तर, मृत्यु भएकाको नपठाएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *