भोलि र पर्सि उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको राजनैतिक दललाई अपिल

काठमाडौं । निर्वाचन आयोगले यही बैशाख ११ र १२ गते (भोलि र पर्सी) स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपील गरेको छ । निर्वाचन आयोगले शनिबार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख ११ र १२ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म बैशाख ३० गतेदेखि हुने स्थानीय तह निर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्न गरेकरा हुन् ।

आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरुलाई रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण बनाई दिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आम सञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई आग्रह गरेको छ ।

उम्मेदवारी मनोनयनमा चाप पर्न नदिन दुई दिन उम्मेदवार मनोनयनका लागि समय दिइएको पनि आयोगले स्पष्ट पारेको छ । आयोगका प्रवक्ता पौडेलले २०७४ सालको स्थानीय तह निर्वाचनमा एकै दिन मनोनयन गर्दा अत्याधिक चाप देखिएकाले त्यसो हुन नदिन यो पटक दुई दिनको समय दिनु परेको बताए ।

उनले भने, ‘बैशाख ११ र १२ गते तोकिएको समयमा १० बजेदेखि १७ बजेभित्र प्रचलित कानून बमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन गर्न सक्ने भएकाले त्यसबाट उम्मेदवारको मनोनयन प्रक्रिया सहज, सरल र समयमै सम्पन्न हुने विश्वास आयोगले लिएको छ । निर्वाचनमा चुन्ने र चुनिने अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आफ्नो मनोनयन पत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न आयोग प्रतिवद्ध रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *