स्थानीय निर्वाचनका लागि दुई करोड मतपत्र छापिँदै

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ ।

निर्वाचनका लागि आवश्यक सबै मतपत्र जनक शिक्षा सामग्री केन्द्रबाट छाप्ने निर्णय गर्दै आयोगले यस्तो निर्देशन दिएको हो । निर्वाचन तयारीबारे जानकारी गराउन सोमबार आयो जित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त निर्णय बमोजिम जनशक्ति, छपाइ यन्त्रलगायतका सबै पूर्वाधार तयारी अवस्थामा राख्न केन्द्रलाई निर्देशन दिएको बताए ।

उनले चैत १७ गते नमुना मतपत्र छापिने र लगत्तै मतदानमा प्रयोग हुने मतपत्र छपाइ कार्य सुरु हुने बताए ।

स्थानीय निर्वाचनका लागि करिब दुुई करोड मतपत्र छापिने छन् । स्वीकृत अन्तिम मतदाता नामावली बमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जनाएको छ ।

आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *