वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने

काठमाडौं। निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ ।

आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको बताए ।
मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

ऐनले कहिलेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति मतदान गर्न पाउने मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिएको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ ले निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मतदाता हुने व्यवस्था उल्लेख गरेको छ ।

तर विगतमा सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई नै आयोगले ‘कट अफ डेट’ तय गर्दै आएको थियो । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *