नेपालले गर्‍यो राष्ट्रसंघको महासभामा रुसविरुद्ध मतदान

काठमाडौँ संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमण तत्काल रोक्न आह्वान गर्दै बोलाएको विशेष महासभामा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । गएराति भएको ११औँ विशेष महासभामा युक्रेनमाथि रुसले जारी राखेको कारबाही तत्काल रोक्ने प्रस्ताव बहुमतले पारित भएको छ । जसमा नेपालसहित १ सय ४१ देशले प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

नेपालका तर्फबाट महासभामा बोल्दै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा रहेको बताए।नेपाल वुद्धभूमि भएकाले पनि शान्ति प्रेमी देश भन्दै राईले शान्ति स्थापनका लागि कुटनीति र संवादको विकल्प नभएको उल्लेख गरे ।

यो प्रस्तावमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र युक्रेनी क्षेत्रबाट रुसको सैन्य बल तत्काल पूर्णरुपमा बिना शर्ता हटाउन माग गरिएको छ । यो प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, एरिट्रिया र सिरियाले मात्र मतदान गरेका छन् ।

१ सय ९३ देश रहने संयुक्त राष्ट्र संघ महासभाले युक्रेनको सम्प्रभुता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई पुष्टि गरेको छ । सन् १९५० पछि संयुक्त राष्ट्र संघमा यस्ता विशेष महासभा १० वटा मात्रै भएका छन् । यस्ता महासभालाई शान्तिका लागि एकताका रुपमा लिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *