एक वर्षमा एनसेलले थप्यो ३३८ मोबाइल टावर

काठमाडौं ! एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएको कम्पनीले जनाएको छ ।

फोरजी सेवाको पहुँचबाट स्थानियलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरू रहेको कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार यसरी पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गाा गाउँपालिका (खोटाङ) का ग्रामिण इलाकाहरु, र इनरुवा नगरपालिकाका नयाँ स्थानहरु लगायतका ठाउँहरु पर्दछन् ।

गत आवमा नै एनसेलले आफुले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न २८३ नयाँ टावरहरु गरेको छ । यी मोबाइल टावरहरु सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको थियो । लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेश प्रदेशलगायतका स्थानमा अधिकांश साइट जडान भएका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “एनसेलका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नेपालभर एउटा राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु हो । हामीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले  जोडेका छौं । आफ्नो नेटवर्क मार्फत हरेक नेपालीलाई जोड्ने हाम्रो लक्ष्यमा हामी प्रतिबद्ध छौं । उच्च गुणस्तरीय आधुनिक सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरु र साझेदारहरूलाई यसको लाभ प्रदान गर्न हामी निरन्तर काम गरिहेका छौं ।”

एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झण्डै १,४५० मोबाइल टावरहरुको स्तरोन्नती पनि गरेको छ । यसरी स्तरोन्नती गरिएका टावहरुहरु मध्ये ७८० भन्दा बढि विभिन्न नगरपालिकामा स्थापना गएिका टावरहरु पर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गाउँपालिका स्तरमा जडित ४४० बढि टावरहरुको स्तरोन्नती गरिएको छ । यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावहरुको स्तरोन्नती गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको छ ।

ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४,००० भन्दा बढि फोरजी टावरहरु संचालनमा रहेको कम्पनीलेजनाएको छ । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउने कम्पनीले उल्लेख गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *