मुस्लिम आयोगले अब हलाल सर्टिफिकेट वितरण गर्ने

काठमाडौं ! मुस्लिम आयोगले ‘हलाल मासु’ को पसल तथा बिक्रि केन्द्रका लागि आफैँले सर्टिफिकेट उपलब्ध गराउने भएको छ । अहिलेसम्म विश्वासको भरमा चलिरहेको भएपनि अब भने आयोग आफैँले सर्टिफिकेट प्रदान गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो।

अहिले नेपालमा हलाल नै हो भनेर सर्टिफाइड गर्ने निकाय नभएको र अहिले बजारमा हलाल नै हो भनेर भइरहेको मासुको बिक्रि वितरणमा शंका लागेपछि मुस्लिम समुदाय र मस्जिदहरुले आयोगमा गुनासो गरेका थिए।

गुनासो आएपछि आयोगले अध्यक्ष समिम मियाँ अन्सारीकै नेतृत्वमा एउटा कार्यदल बनाएको छ । कार्यदलले हलाल मासु बिक्रि गर्ने पसलहरुलाई अब आयेगको आफ्नै लेटर–हेडमा इजाजत पत्र उपलब्ध गराउने गरी सिफारिस गर्ने तयारी गरेको हो ।

यसका लागि निश्चित मापदण्डहरु पनि बनाइएको अध्यक्ष अन्सारीले जानकारी दिएका छन् ।

‘अहिले हलाल हो भनेर सर्टिफिकेटहरु त देखाइएका हुन्छन्, तर कुन निकायबाट प्रमाणित हो भन्ने हुँदैन, हलालको आधिकारिकता दिने निकाय नै छैन’ अध्यक्ष अन्सारीले बिजपाटीसँग भने, ‘यस विषयमा गुनासाहरु आएपछि आयोगमा छलफल भयो, आयोगले यो काम आयोगकै काम, कर्तव्य र अधिकारभित्र पर्छ भनेर एउटा कार्यदल बनाएको छ । कार्यदलले विज्ञसहित छलफल गरिसकेको छ, भोली पनि बैठक छ ।’

अध्यक्ष अन्सारीका अनुसार अब हलालको नाममा जथाभावी सर्टिफिकेट वितरण गर्नेहरुको धन्दा बन्द गर्ने गरी आयोगले आफ्नै टिमबाट मापदण्ड अनुसार भए नभएको जाँच गरी इजाजत दिनेछ । इजाजत दिएपछि अनुगमन पनि गर्नेछ ।

अनुगमनका लागि गुणस्तर विभाग, सबै जिल्ला प्रशासन कार्यालय, आपुर्ति मन्त्रालय लगायत सरोकारवाला निकायको टिम पनि बन्नेछ । कार्यदलबाट निर्णय भएर सिफारिस भएपछि उक्त सिफारिस आयोगले अनुमोदन गर्नेछ । आयोगले कार्यदलको निर्णय अनुमोदन गरेर निर्देशन सार्वजनिक गर्नेछ । यो निर्देशन लागू भएपछि हलाल मासु पसल राख्न आयोगबाट इजाजत लिनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *