राजनीतिक पुर्वाग्रहको नमुना : गोदावरीका मेयर भट्टले उद्घाटन भएको भवनको गरे फेरि उद्घाटन

धनगढी । कैलालीस्थित गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटनलाई लिएर गोदावरी नगरपालिकामा विवाद सिर्जना भएको छ। एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउँदले २०७८ चैत्र १४ गते उद्घाटन गरिसकेको प्रशासकीय भवनको काङ्ग्रेसबाट निर्वाचित वर्तमान मेयर विरेन्द्र भट्टले पुनः उद्घाटन गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

एकपटक शिलान्यास वा उद्घाटन गरिसकेका संरचनाको फेरि त्यही काम गर्दा विवादमात्र हैन,नागरिकस्तरबाट चर्को आलोचना समेत हुने गर्दछ। गोदावरी नगरपालिकाका मेयरले हाल जनजीवनका सवालमा भन्दा यस्तै विवादित कुराहरुमा ध्यान दिंदा उनको चर्को विरोध भएको छ। एकपटक उद्घाटन भएको भवनको पुनः उद्घाटन गर्ने रहर लागेपछि मेयर भट्टले दलबल सहित उक्त काम त गरे तर नेकपा एमाले गोदावरीको अगुवाईमा स्वतन्त्र नागरिकहरुले समेत उक्त कार्यको विरोध गरिरहेको दृश्य त्यहाँ देखिएको छ। राजनीतिक पुर्वाग्रहले गर्दा एमालेका जनप्रतिनिधिले गरेको उक्त कामलाई उल्ट्याउन खोज्नु लोकतन्त्रमाथिकै प्रहारका रुपमा देखाएको छ।

मेयर भट्टले तत्कालीन मेयर साउँदले उद्घाटन गरेर राखेको शिलालेखलाई पनि तोडफोड गर्न लगाएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ। त्यो दृश्यपछि गोदावरीमा मात्र नभएर अन्य क्षेत्रबाट पनि उनको सो कार्यको विरोध भएको छ।