सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ३ अर्ब २ करोड बराबरको बजेट

काठमाडौं ! सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि तीन अर्ब दुई करोड ६१ लाख रुपैँयाको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको यसपटक ल्याइएको बजेट अघिल्लो वर्षको तुलनामा बढी हो । चालु आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ९४ करोड ११ लाख बराबरको बजेट ल्याएको थियो ।

आईतबार वीरेन्द्रनगरको १३ औं नगरसभामा उपप्रमुख निलकण्ठ खनालले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रममा कूल बजेटमध्ये वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको छ भने नगरस्तरिय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको छ ।

नगरपालिकाको कुल बजेटमा ४० करोड ४३ लाख ९ हजार आन्तरिक आय हुने अनुमान गरिएको छ । यस्तै नगरपालिकाले संघीय वित्तीय समानीकरणको अनुदान २२ करोड ८९ लाख, संघीय ससर्त अनुदानबाट १ अर्ब ३८ करोड ३० लाख, संघीय राजस्व बाडँफाँडमा १७ करोड ९६ लाख ३१ हजार, संघीय सरकार विशेष अनुदानको पुँजीगततर्फ १ करोड, संघीय सरकारबाट समपुरक अनुदानमा ५५ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट २ करोड ९३ लाख २६ हजार, प्रदेशबाट ससर्त अनुदानबापत ३१ करोड २९ लाख ९० हजार, संघीय सरकारबाट समपुरक अनुदानमा १ करोड, प्रदेश राजस्व बाडँफाँडबाट ३० लाख ३३ हजार ९ सय ६७ रुपैयाँ आय हुने अपेक्षा गरिएको छ ।

प्रस्तुत बजेट तथा कार्यक्रममा वर्तमान आवाश्यकता, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकता राखेर आएको छ । ‘शैक्षिक, प्रशासनिक, पर्यटकिय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मूल नारा बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

साथै, नगरप्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । जसमा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्नेदेखि उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाइने नीति तथा कार्यक्रममा बताउनुभयो ।

कर्णाली बसपार्क निर्माण, काँक्रेविहार संरक्षित क्षेत्रलाई चिडियाखानाको रुपमा विकास गर्ने, एक वडा एक वन उद्यम रणनीति अवलम्वन गर्ने, नगर हरियाली प्रवद्र्धन कार्यक्रम लगायतलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *