अब २० रुपैयाँमा ‘वीरेन्द्रनगर बजार’ सरर

काठमाडौं ! कर्णाली प्रदेशको राजधानीको मुख्य बजारसम्म पुग्न अब २० रुपैयाँ मात्रै लाग्ने भएको छ । वीरेन्द्रनगरमा पहिलो पटक माइक्रो सेवा शुरु गरिएपछि धुलियाविट वा बाँगेशीमलबाट सहुलियत भाडादरमा बजारसम्म पुग्न सकिने भएको हो ।

मुख्यगरी फोरलेन सडकको धुलियाविटबाट मंगलगढी–यरिचोकहुँदै मुलपानी चोकदेखि प्रदेश अस्पताल भएर बाँगेशीमलसम्म पुग्नेगरी माइक्रो गाडी सञ्चालन गरिएको छ । सोही रुट भएर ति गाडीहरु पुनः धुलियाविट पुग्नेछन् । १० वटा माइक्रो गाडी १०–१० मिनेटको फरकमा छुट्नेछन् ।

यात्रुहरुलाई सहज सेवा दिन र सहुसलयत भाडादर २० रुपैयाँ कायम गरिएको छ । धुलियाविटदेखि बाँगेशीमल पुग्दा पनि भाडा २० रुपैयाँ नै कायम गरिएको छ । बाँकी एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर २० रुपैयाँ नै कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए ।

उनकाअनुसार विस्तारै नगर माइक्रो सेवा मंगलगढी–काँक्रेविहार, मंगलगढी–एरपोट चोक–बामेखोला, मंगलगढी–गणेशचोक–आँखा अस्पतालचोकहुँदै कालिन्चोक–नेवारे पिपिरा, गणेशचोक–प्रदेश अस्पताल–बाँगेशीमल रुट थप गरिनेछ । साथै, गणेश चोक–कारागार–टेलिकमहुँदै कपासे रुट समेत थप गरिने सापकोटाको भनाई छ ।

नगर माइक्रो सेवा उद्घाटन गर्दै नगर प्रमुख मोहनमाया ढकालले नगरबासीका लागि सेवा आरम्भ गरेकोमा खुसी व्यक्त गरिन् । नागरिकहरुको आवश्यकताअनुसार नगर माइक्रो सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नेमा विश्वस्त रहेको उनको भनाई छ ।

उनले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिकाले लागेकाले व्यवसायीहरुका आवश्यक माग सम्बोन्धनमा नगरपालिका गम्भीर रहेको प्रतिवद्धता व्यक्त गरिन् । अटो रिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकहरुलाई नगर माइक्रो सेवाले राहत दिने विश्वास गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *