भरतपुरमा आजदेखि हर्न निषेध

काठमाडौं ! चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको समेत व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ ।

एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो  । उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौं–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाका सवारी साधनका यात्रु चढाउने तथा झार्ने कार्य केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ ।

पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारी साधनका यात्रु चढाउने तथा झार्ने काम केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिने व्यवस्था गरिएको छ । पश्चिम जाने यात्रुबाहक सवारी साधनले केन्द्रीय बर्सपार्कबाट यात्रु चढाउने तथा झार्ने गरी जानुपर्ने नियम बनाइएको छ ।

यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने सवारी साधनको पार्किङ स्थल नारायणगढ बसपार्क हुनेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहक बसका लागि पार्किङ केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ । नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ ।

यस्तै काठमाडौं पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहक सवारी साधन ट्रक, लहरी, टिपरजस्ता मालबाहक सवारी साधनलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ । महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बजार क्षेत्रमा हर्न बजाउन निषेध गरिएको छ । यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँयाबायाँ भागमा निजी तथा भाडाका सवारी साधनलाई पार्किङमा निषेध गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *