घोडाघोडी नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु

धनगढी ! कैलालीको घोडाघोडी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यक्रम सुरु भएका छन् । नगरपालिका भित्रका विभिन्न वडाहरूमा आयोजना सुरु भएको बताईएको छ । नगरपालिकाको ‘राेजगार सेवा केन्द्र’ द्वारा आयोजित एक कार्यक्रम मार्फत नगरप्रमुख खडक बहादुर रावतले कार्यक्रमको शुभारम्भ गरेका छन् ।
शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख खडक बहादुर रावतले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालन हुने आयोजनाहरू विशेष गरी रोजगारमूलक आयोजना भएको र प्रभाकारी कार्यसम्पादनमा सबैले जोड दिनु पर्ने उनले बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले लक्षित वर्गका व्यक्तिहरूको जीवन निर्वाहमा सहयोग पुर्‍याएको तथा पूर्वाधारको विकास निर्माण सँगसँगै स्थानीय स्तरमा रोजगारीका सम्भावनाहरूलाई उजागर गरेको उनको भनाई थियो ।
आयोजनाहरू नगर बासीको जीवनपद्धति सँग जोडिएको हुँदा काममा प्रभावकारिता ल्याउन सबै पक्ष उत्तिकै जिम्मेवारी हुनु पर्ने उनको धारणा रहेको थियो । आफूले पाएको  जिम्मेवारी ईमान्दारीताका साथ बहन गर्न उनले आग्रह गरेका छन् । साथै नगरपालिकाले प्रत्येक कामदार अनुसार टोपी, ज्याकेट र जुत्ता उपलब्ध गराउने उनले बताए ।
नगरपालिकाका राेजगार सेवा केन्द्रका संयोजक रोहित प्रसाद जोशीले  रोजगार कार्यक्रमका लागि लाभग्राही छनौट प्रकृया, लाभग्राहीको कर्तव्य र अधिकार तथा आयोजना कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको थियो । प्रत्येक वडामा बेरोजगारको सूचिमा सूचिकृत व्यक्तिहरूमध्ये अति विपन्न घर परिवारका  व्यक्तिहरूलाई १०० दिने रोजगारमूलक कार्यक्रममा समावेश गरिएको छ । नगरपालिकाका भरीका १ सय ९५ जनाहरू १०० दिने रोजगारमूलक कार्यक्रममा समावेश हुने छ ।
उनीहरूलाई लाभग्राही कार्ड समेत वितरण गरीएको थियो । यो कार्यक्रममा सूचिकृत श्रमिकहरूले दैनिक ८ घण्टा श्रम गर्नुपर्ने नियम छ । त्यसबापत उनीहरूले पाउने ५ सय ७७ रुपैंया पारिश्रमिक स्थायी लेखा नं. (पान) अनिवार्य गरी खोलेको बैङ्क खातामा नगरपालिकाले जम्मा गरिदिने व्यवस्था रहेको बताईएको छ । रोजगार पाएकाहरूले बाटो मर्मत, कुलो खन्ने, माटो पटानी क्षेत्रमा काम दिएको बताईएको छ । कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, योजना शाखा प्रमुख र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *