खोलाविनाको पुल तर्न नगद २०

काठमाडौं । सुर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ।

नगरपालिकाको वडा नं. ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपियाँ तिर्नुपर्ने हुन्छ। दुईवटा डाँडालाई जोड्न बनाइएको सो पुल तरेबापत शुल्क लाग्ने विषय अहिले विवादित भएको छ।

सूर्यविनायक नगरपालिकाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले सङ्घीय सरकारको सहयोगमा एक करोड छ लाख रुपियाँको लागतमा पुल निर्माण गरेको थियो। नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले पर्यटन क्षेत्रको विकासका लागि शुल्क लिने गरिएको तर्क गरे ।

सो क्षेत्रको अवलोकन गर्न सार्वजनिक बिदामा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन्।

उहाँले पर्यटकका लागि थप भौतिक पूर्वाधारको विकास गराउन न्यून शुल्क लिनु परेको बताए । “केही समयमै भ्यु प्वाइन्ट, शौचालयलगायतका सुविधा बढाउँदै छौँ,” उनले थपे, “नगर कार्यपालिकाको बैठकबाटै पुल तरेबापत शुल्क लिने निर्णयपछि बोलपत्र आह्वान गरेर वार्षिक ३६ लाख रुपियाँमा रविचन्द्र कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ।”

पुल निर्माण गरिएको वडा नं. ९ र १० का स्थानीयले पुल प्रयोग गरेबापत शुल्क तिर्नु नपर्ने र सूर्यविनायक नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत छुट दिइएको छ।

सार्वजनिक बिदामा अत्यधिक भीड हुने भएकाले सो भीड व्यवस्थापनका लागि रकम उठाइएको भनाइ नगरपालिकाको छ।

यो समाचार गोरखापत्र दैनिकमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *