घोडाघोडी नगरपालिकाले गर्‍यो नगर स्तरीय तिज कार्यक्रम

धनगढी ! कैलालीको घोडाघोडी नगरपालिका १ सुखडको हेलिप्याडमा नगर स्तरीय हरितालिका तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । नगर उप प्रमुख गुलिया कुमारी चौधरीको सभापतित्वमा मङ्गलवार सम्पन्न कार्यक्रममा नगर प्रमुख खडक बहादुर रावत प्रमुख रहनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि,विभिन्न रातिनजिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा तिज प्रतियोगीताका लागी नगर भित्रका विभिन्न १४ वटा टिमहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताको प्रथम टिमले नगद ७ हजारका साथै प्रमाणपत्र प्राप्त गरेको थियो भने द्वितीय हुने टिमले नगद ५ हजार प्रमाणपत्र, तृतीय हुने टिमले नगद ४ हजार सहित प्रमाणपत्र र सान्त्वना भएको समूहले नगद २५ सयका साथै प्रमाणपत्र प्राप्त गरेको छ । सहभागी टिमहरूले परम्परागत संस्कृति झल्काउने लोकनृत्य एवम् गीतहरू प्रस्तुत गरेका थिए ।
नगर प्रमुख खडक बहादुर रावतले पछिल्लो समय तिज पर्व महिला दिदिबहिनीहरु बिचको दुख सुख बिसाउने थलो भएकाले यसलाई भड्किलो तरीकाले भन्दा पनि शान्त एवम् साधारण तरिकाले मनाउन सम्पूर्ण महिलाहरूलाई आग्रह गर्नु भयो  । सुदूरपश्चिममा रहेको कला, धर्म, संस्कृति, परम्परागत र पर्वहरूलाई जोगाइ राख्न स्थानीय सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । महिलाहरूको मुख्य पर्वका तिजका माध्यमबाट महिलाहरूमा मेलमिलाप एवम् सद्भाव कायम हुने गरेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाकी नगर उप प्रमुख गुलिया कुमारी चौधरीले महिलाहरू बिच एक आपसमा भेटघाट, माया प्रेम दुखसुख साटासाट गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उनले सामाजिक सद्भाव कायम गर्ने र आफ्नो संस्कृति रहनसहन परम्परालाई जगेर्ना गरी घरको चुलो चौकोमा मात्र सीमित हुने महिलाहरूलाई कार्यक्रमका माध्यम वाट केही नयाँ कुराहरू जान्न बुझ्न सहज होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।
हरितालिका तिजको अवसरमा नगरपालिका स्तरीय धार्मिक मूल्यमान्यता, सामाजिक प्रथा परम्परा र धर्म संस्कृतिको जर्गेना गर्दे नगरपालिका सम्पूर्ण दिदी बहिनीहरू बिच आपसी सद्भाव, परस्पर सम्बन्ध अभिवृद्धि गर्ने अभिप्रायले तिज नृत्य कार्यक्रमको आयोजना गरेको नगरपालिको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *