काठमाडौं ! वीरेन्द्रनगर नगरपालिकाको दश बर्से शिक्षा क्षेत्रको योजना अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
वीरेन्द्रनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर सुर्खेतको आयोजना र सबैका लागि पढाई कार्यक्रमको समन्वयमा भएको यस कार्यक्रममा शिक्षा क्षेत्रका योजनाका विषयमा छलफल गरेको थियो ।
वीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरू दश वर्ष भित्र विद्यालय शिक्षामा लगानी गर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, शैक्षिक गुणस्तरमा सुधार गर्ने र विद्यार्थीले साझा अपन महसुस गर्ने वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले बताइन् ।
उनले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादन तथा राष्ट्रियता प्रति सकारात्मक, जिम्मेवार, उन्नत सोच बोकेका नैतिकवान्, नवप्रवर्तनशील, रचनात्मक, सिर्जनात्मक तथा आफू वीरेन्द्रनगर नगरवासी भएकोमा गर्व गर्ने सक्षम जनशक्तिको विकास गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।
योजनामा २०८८ सम्ममा प्रारम्भिक बालविकासमा विद्यार्थी भर्ना दर एक सय दुई प्रतिशत पुर्याउने, आधारभूत तहमा भर्ना दर शतप्रतिशत पुर्याउने, आधारभूत तहमा विद्यार्थी टिकाउ दर ८५ प्रतिशत पुर्याउने, विद्यालय भन्दाबाहिर रहेका विद्यार्थीको सङ्ख्या शून्यमा झार्ने र साक्षरता दर बढाउने लक्ष्य योजना वीरेन्द्रनगरको छ ।
वीरेन्द्रनगर नगरपालिकाको शिक्षामा बजेट बढाउँदै कुल बजेटको २० प्रतिशत बजेट पुर्याउने योजना रहेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा, विद्यार्थीको सहभागिता, इन्टरनेट उपयोग गर्न सक्ने जनशक्ति, विद्यालयमा विद्युतीय पहुँच विस्तार र विद्यालयमा इन्टरनेट सेवा पुर्याउने जस्ता लक्ष्य वीरेन्द्रनगरको रहेको छ ।
नगरपालिकामा आवश्यकता अनुसारको पाठ्यसामग्री र पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूरशिक्षा तथा खुल्ला सिकाई, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई वीरेन्द्रनगरको योजनाले जोड दिएको छ ।
यस्ता छन् रणनीति
नगरपालिकाले प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रमलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गरी यसलाई सबै बालबालिकाका लागि अनिवार्य गरिने, नक्साङ्कनका आधारमा नगरपालिका क्षेत्रभित्र विद्यालयको स्थापना, समायोजन तथा पुनर्वितरण गरी सबै बालबालिकाको पहुँच र सहभागिताको सुनिश्चितता गरिने रणनीति लिएको छ ।
यस्तै, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको प्रत्याभूति गर्न नगरपालिकाका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने तथा भर्ना भएका सबैलाई अध्ययनमा निरन्तरता दिने र गुणस्तर अभिवृद्धिका लागि उत्प्रेरणा मूलक उपायहरू अवलम्ब नगरिने, नगरपालिकाका नेतृत्वमा संघीयता तथा कर्णाली प्रदेश सरकारसँगका सहयोग र सहकार्य गर्दा विद्यालयहरू भौतिक, आर्थिक, शैक्षिक तथा जनशक्ति व्यवस्थापन र विकास गर्दै आधारभूत शिक्षाको गुणस्तर प्रवर्द्धन गरिने रणनीति रहेको छ ।
नगरपालिकाले निःशुल्क माध्यमिक शिक्षामा सहज पहुँच र समावेशी सहभागिता सुनिश्चित गर्न संघ र कर्णाली प्रदेश सरकारसँगको समन्वयात्मक कार्य ढाँचामा माध्यमिक विद्यालयहरूको क्षमता सुधार गरिने, अपनत्वको सिर्जना, नेतृत्वको सबलीकरण, शिक्षण सिकाइ प्रक्रियामा सुधार, पेसागत नैतिकताको प्रवर्द्धन र लगानी अभिवृद्धिद्वारा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरिने, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई समेट्न विशेष सहुलियत दिने, नीति अख्तियार गरिने, अपाङ्गता भएका बालबालिकाहरूको आवश्यकता, समन्यायिकता र समावेशीकरणको सिद्धान्तको आधारमा विशेष शिक्षा र समावेशी शिक्षाका माध्यमबाट उपयुक्त शैक्षिक अवसरहरू उपलब्ध गराइने छ ।
यस्तै, बालबालिकाको पोषणको अवस्था तथा स्वास्थ्यमा सहयोग पुग्ने गरी दिवा खाजाको प्रबन्धका साथै स्थानीय स्वास्थ्य तथा अन्य सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गरी सरसफाइ तथा स्वच्छता, आधारभूत स्वास्थ्य र पोषण सेवा तथा शिक्षा विद्यालयमार्फत प्रदान गरिने, नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने गरिब, सुविधाविहीन, कठिन परिस्थितिमा रहेका र अपाङ्गता भएका बालबालिकाहरूलाई विद्यालयमा भर्ना हुन, निरन्तरता दिन र सिकाइमा सहभागी भई उपलब्धि सुधारमा सहयोग गर्न आवश्यक पर्ने सहयोग प्रणाली लागु गरिने रणनीतिमा नगरपालिकाले समावेश गरेको छ ।
साक्षरता, निरन्तर शिक्षा र जीवनपर्यन्त सिकाइको अवसरलाई पेसा एवम् व्यवसाय, सामाजिक जीवन र सहभागितासँग आबद्ध गर्नुका साथै सामुदायिक सिकाई केन्द्रहरूको कार्यक्षमतामा सबलीकरण गरिने, विद्यालयमा विषयगत शिक्षकको सुनिश्चितता गर्नुका साथै शिक्षकको पेसागत विकास र भरपर्दो सहयोग प्रणालीको सुनिश्चितता हुने आवश्यक संयन्त्रको निर्माण गरिने नगरपालिकाले रणनीति बोकेको छ ।
यस्तै, वीरेन्द्रनगर नगरपालिकालाई उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ । सबै बालबालिकाहरूका लागि सर्वाङ्गीण विकासमा केन्द्रित गुणस्तरीय प्रारम्भिक बालविकास तथा शिक्षाको अवसर सुनिश्चित गर्नु, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षामा समतामूलक पहुँच सुनिश्चित गरी शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनु नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका तुल्याई अनौपचारिक, वैकल्पिक र खुला शिक्षाका माध्यमबाट जीवनपर्यन्त निरन्तर शिक्षाको अवसरहरूको सुनिश्चितता गर्ने उद्देश्य गरेको छ ।