कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले गत शनिबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेपछि यही साउन ७ गते माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।