सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल शाह नियुक्त

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनु भएको छ । काँग्रेस एमालेको समर्थनमा दावी पेश गर्नु भएका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले  आज मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु  भएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आज विहान मात्र कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।