सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिंदै

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिदैहुनुहन्छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।

यसैबीच सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिनुभयो ।

विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उहाँले बताउनुभयो । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य रहेका छन् ।