लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं ! लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

चैत २३ गते मुख्यमन्त्रीमा महरा नियुक्त भएका थिए । महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थन छ । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्राबधान छ ।

महरालाई गठबन्धन दल नेकपा एमालेको २९, नेकपा माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा एकीकृत समाजवादी पार्टी १ र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ सांसदको समर्थन छ।

प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीले तीन जना मन्त्रीसमेत नियुक्त गरिसकेका छन् । तर, उनीहरूको जिम्मेवारी भने तोकिएको छैन् । एमालेबाट दल उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बनेका छन् ।

विश्वासको मत पाएपछि मात्रै मन्त्रीको जिम्मेवारी तोकिने र थप मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीको छ ।