लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

दाङ- लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठक आज बस्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठक आह्वान गर्नु भएको थियो ।

दिउँसो ४ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने तयारी छ । चैत २ गते तेस्रो अधिवेशन अन्त्य गरिएको थियो । सरकारमा सहभागी दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।

गत बैशाख १४ गते आठ राजनितिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त हुनुभएको थियो । तर, राजनितीमा आएको फेरवदलका कारण उहाँले फेरी विश्वासको मत लिने स्थिति बनेको छ ।

८७ सदस्यीय प्रदेश सभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेस २७, नागरिक उन्मुक्ती पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना प्रदेश सभा सदस्य छन् ।

एमालेका २९ माओवादी सभामुख बाहेक १०, जसपा ३ र एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।