कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

काठमाडौं ! कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिँदैछन्।
असोज २८ गते घटस्थापनाका दिन मुख्यमन्त्रीको शपथग्रहण गरेका कार्कीले तीन दिनपछि आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बहुमत पुर्‍याएर मुख्यमन्त्री बनेका कार्कीले प्रदेशमा कम समयमा विश्वासको मत लिने भएका हुन्।

विश्वासको मतका लागि ३० दिनको समयसीमा रहँदै गर्दासमेत कम समयमै विश्वासको मत लिन कार्की तयार भएका छन्। उनले चाडपर्वले घेरिसकेको अवस्थामा सबै दलले साथ दिइरहँदा यसलाई समेत टुंगोमा पुर्‍याउनुपर्ने देखिएको बताए।

विश्वासको मत लिएर प्रदेशलाई चलायमान बनाउन चाडै विश्वासको मत लिन लागेको मुख्यमन्त्री कार्कीको भनाइ छ।

कांग्रेसबाट ८ र एमालेबाट ३९ जनाको समर्थनसहित मुख्यमन्त्री भएका कार्कीलाई गठबन्धनबाट समेत समर्थन रहनेछन्। १३ प्रदेशसभा सदस्य रहेको नेकपा माओवादीको प्रदेश कमिटीले समेत कार्कीलाई समर्थन गरे पनि संसदीय दलले भने मंगलबारमात्र समर्थन जनाएको छ।

माओवादी संसदीय दलको नेतामा इन्द्र आंग्बो रहेका छन्, उनी मुख्यमन्त्रीका अर्का दाबेदार रहेका थिए। अर्कोतर्फ ४ सिट रहेको नेकपा एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिने भएको छ। अघिल्लोपटक समेत मौन बसेको राप्रपा भने यसपटक पनि तटस्थ बस्ने भएको छ।