कोशी प्रदेशको मुद्दा न्यायाधीश मल्ल र माथेमाको इजलासमा पेसी

काठमाडौं ! कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारले विश्वासको मत लिँदा संविधान मिचिएको दाबी गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ।

दुई महिला न्यायाधीशको इजलासमा उक्त मुद्दा पहिलो नम्बरमा रहेको छ। नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यसअघि एकल इजलासबाट अन्तरिम आदेश जारी भएको छ।

प्रदेश सभा बैठकको अध्यक्षता गरिरहेको व्यक्ति पनि मतदानमा संलग्न हुदै संविधान उल्लंघन भएको दाबी रिटमा गरिएको छ। भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

यो सँगै थापा नेतृत्व सरकार दोस्रो पटक संकटमा परेको   थियो। उक्त रिटको पेसी सर्वोच्चले आजबाट सुनुवाइ निरन्तर गरेर किनारा लगाउनुपर्ने छ।

सर्वोच्चमा मुद्दा विचाराधिन हुँदा बजेट होलिडे भएको छ। कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा सर्वोच्चमा रिट दिएका थिए।

उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएकोले निरन्तर सुनुवाइ गरेर टुंगोमा पुर्‍याउने सर्वोच्चको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *