कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटको आज सुनवाइ हुँदै

काठमाडौं !  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालेविरुद्धको रिटको सुनुवाइ बिहीबार हुँदैछ। प्रदेशका मुख्यमन्त्री थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुने भएको हो।

थापाले सभामुखको मतसहित विश्वासको मत लिएको भन्दै उनी नेतृत्वको सरकार खारेजीको अन्तरिम आदेशको माग गर्दै कोशी सरकारका पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले रिट दायर गरेका हुन्।

मुख्यमन्त्री थापाले संविधान विपरीत र प्रचलित कानुन विपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर गैर संवैधानिक तरिकाले विश्वासको मत प्राप्त गरेको एमालेका कार्कीको जिकिर छ।

यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो। सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम दाहाललाई राजिनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *