काठमाडौ !मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो राजीनामा पत्रमा विपक्षी दललाई विभिन्न आरोप लगाएका छन् । उनले संविधान धारा १६८ (१) अनुसार नियुक्त मुख्यमन्त्री विरुद्ध १८८(४) को व्यवस्था अनुसार पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाइनेमा विपक्षी दलहरु संवैधानिक प्रावधान विपरीत गएको बताएका छन् ।
विपक्षी दलले प्रदेशसभाबाट दुईजना सांसदलाई राजीनामा, ५ जनालाई कारबाही र एक जनालाई दल परिवर्तन गराउने जस्ता अवाञ्चित र जनादेश प्रतिकूल अभ्यासहरु गरेको मुख्यमन्त्री पोखरेलको आरोप छ ।
विद्यमान अन्यौलताको अन्त्य गरी मार्ग प्रशस्त गर्न नेपालको संविधानको धारा १६९(१) क बमोजिम पदबाट राजीनामा दिएको पोखरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई नमुना बनाउने आफ्नो सपना अधुरै रहेको बताएका छन् । राजीनामापछि मन्त्रालयका सचिव र कर्मचारीहरूलाई धन्यवाद दिने क्रममा पोखरेलले आञ्चलिक मनोविज्ञान जोड्ने प्रयत्न स्वरूप दाङको भालुवाङ क्षेत्रमा स्थायी राजधानी बनाएको बताए ।
अबको सरकारलाई स्थायी राजधानीलाई नमुना बनाउने काममा सहयोग गर्न मुख्यमन्त्रीले सचिवहरुलाई आग्रह गरे । आफ्नो नेतृत्वमा प्रदेशलाई स्थापित गरिएको र सरकारले थुप्रै नयाँ काम गरेको उनले उल्लेख गरे ।