पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीनतलेको पहिरो गएकाे भूगर्भविदकाे भनाइ

महोत्तरी– महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीनतलेमा गएको पहिरो अध्ययन थालिएको छ। गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औँल्याएका हुन्।
ललितपुरस्थित पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ सरोज घिमिरेले स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा तीनतले पहिरो गहिरो अनुसन्धानको विषय भएको जानकारी दिए। उनीहरुले तीन दिनसम्म पहिरोको स्थलगत अध्ययन गरेका थिए।
यो पाखाको माटो खुकुलिएर झरेको सामान्य प्रकृतिको पहिरो देखिँदैन’, उपप्राध्यापक प्रकाशचन्द्रले भने, ‘यहाँ नयाँ र थप अध्ययन गरिनपर्ने भौगर्भिक अनुसन्धानको चासो देखिएको छ।’ पहिरो गएको पहाडको शृङ्खला धकेलिएर ठेलिँदै गएर पहिरो गएको उनको भनाइ छ।
‘पहाडी थुम्का ठाउँठाउँमा च्यातिएको देखिन्छ, चट्टानका पत्र धजा परेका छन्’, वातावरणविद्  सरोज भन्छन्, ‘पहिरो गएको पहाडी थुम्कामा छिनछिनमा प्रकृति (आकार) फेरिँदै छ।’ घटनास्थल नजिकका थुम्का र पाखामा ‘पट्–पट्’ आवाज आइरहने र खयरमारा खोला पश्चिमको किनार लगातार उठी रहेको वातावरणविद् उनको भनाइ छ। सबैभन्दा नयाँ कुरा पहाड पूर्वतर्फ ठेलिँदै गएको दुवै विज्ञको ठम्याइ छ।
पहिरो गएको ठाउँ चुरे र तराई छुट्याउने ‘प्रगाध’ रहेको उनको भनाइ छ। तीनतले पहाडी थुम्का र त्यसको पूर्वी फेदी खयरमारा खोलाले पछिल्लो एक महिनादेखि दिनदिनैजसो रुप फेर्दै आएका खयरमाराकै बासिन्दा सामाजिक कार्यकर्ता विष्णु भण्डारीले जानकारी दिए। अनुगमन टोलीसँगै तीन दिन सँगसँगै रहेका उनले एक महिना पहिले आफूले नयाँ अवस्था देखेपछि विज्ञहरुको चासोकै लागि सामाजिक सञ्जालमा तीनतले पहाड र खयरमारा खोलाको अवस्थितिबारे तस्वीर राखेको बताए।
‘म आफ्नै व्यवसाय प्रयोजनको भेटघाटका लागि भित्री काछ बस्तीतिर आउजाउ गरी रहन्छु’, उनले भने, ‘तीनतले मुनि पुग्दा ‘गडगड’ ‘पटपट’ को आवाज सुनेपछि के हुँदैछ भन्ने चासो बढेको हो ।’ एक महिनाअघि मास्तिर जाँदा र फर्कदा खयरमारा खोलाको पश्चिमी किनार र पहाडी पाखा फरक देखिएजस्तो लागेपछि यो खास परिस्थिति बन्दैछ भन्ने अड्कल भएको स्थानीयवासी भण्डारीले जानकारी दिए।
आफूले करिब एक महिनापहिले नै त्यहाँको परिघटनाबारे सामाजिक सञ्जालमा पस्कँदै आए पनि पहिरो गइसकेपछिमात्र विज्ञको चासो बढेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *