कैलालीका ४३ जना पीडितले मिटरब्याजी विरुद्ध दिए उजुरी

धनगढी। कैलालीका ४३ जनाले मिटरब्याजी विरुद्ध उजुरी दिएका छन्। गृह मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ५ गतेसम्म मिटरब्याजीबाट पीडित भएकाहरुलाई तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आह्वान गरेको थियो। ‘मिटरब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा मिति २०७९/०५/०५ भित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सोही अनुसार कैलालीका ४३ जना पीडितले आइतबारसम्म मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन्। मन्त्रालयको आह्वानपछि साउन २८ गतेदेखि नै उजुरी दर्ता गर्न पीडितहरु आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा पीडितहरुको उजुरी संकलन गरिएको बताए। उनले संकलन भएका उजुरीहरुलाई गृह मन्त्रालयसम्म पठाइने र मन्त्रालयको निर्देशनपछि आगामी कदम चालिने बताए। मिटरब्याजीले आर्थिक विपन्न तथा निरक्षर परिवारलाई ब्याजमा रकम दिएर उनीहरुको विचल्ली बनाएको समाचार आएपछि सरकारले उनीहरुविरुद्ध कडा कदम चालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *