सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्न परिपत्र

काठमाडौं ! सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका कागजातमा नेपाल संवत् उल्लेख गर्न आग्रह गरेको छ ।

सङ्घीय मन्त्रीपरिषद्ले गत २७ कात्तिकमा विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा नेपाल संवत् अनिवार्य लेख्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आग्रहमा निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तह र जिससलाई मङ्गलबार पत्राचार गरेको हो ।

सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा नेपाल संवत् अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो ।सरकारको निर्णयसँगै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपाल संवत् लेख्ने विधि र तरिका यसअगाडि नै सरकारलाई सिफारिस गरिसकेको छ ।