उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा भ्रामक समाचारप्रति जनायो आपत्ति

काठमाडौं ! उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८२ वैशाख १६ गते दृष्टिन्युज डटकममा प्रकाशित “उध्योग तथा आपूर्ति मन्त्री नै सुपारी तस्करीमा संलग्न” शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले समाचारमा उठाइएका सबै दावीहरू निराधार, भ्रामक र चरित्रहत्या गर्न खोजिएको आरोप लगाएको छ। मन्त्रालयले भनेको छ, “मन्त्रीको व्यक्तिगत र पारिवारिक पृष्ठभूमिसँग सम्बन्ध नराख्ने तरिकाले समाचार लेखिएको छ, जसले सरकारको गरिमामा आँच पुर्‍याउने काम भएको छ।”

मन्त्रालयले स्पष्ट पारेको छ कि, देशको आर्थिक विकास र व्यापार व्यवसायमा सुधार ल्याउने उद्देश्यले मन्त्रीले कानुनी प्रक्रिया अनुसार काम गरिरहेका छन् र कुनै गैरकानुनी कार्यमा संलग्न नभएको दाबी गरेको छ।

साथै, मन्त्रालयले मिडियाले यस्ता भ्रामक, पुष्टि नभएका र नियतवश लेखिएका समाचारहरू प्रकाशित नगर्न र प्रेस आचारसंहिताको पालना गर्न आग्रह गरेको छ।

मन्त्रालयका निजि सचिवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भविष्यमा यस्ता समाचारप्रति कानुनी कारबाहीको चेतावनी समेत दिइएको छ।