निजी विद्यालयलाई बालेनले भने : सरकारी विद्यालयका शिक्षक सरह तलब दिनु

काठमाडौं ! काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौंका निजी विद्यालयका शिक्षकलाई सरकारी विद्यालयका शिक्षक सरह तलब दिन आग्रह गरेका छन्।

 

बिहीबार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर उनले सार्वजनिक काठमाडौं महानगरपालिकामा संस्थागत  (निजी र प्राइभेट) विद्यालयको शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आएको भन्दै  शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा उल्लेख भएअनुसार संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिन आग्रह गरेका हुन्।

यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाईपाई आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको उनको भनाइ छ।

‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ’, उनले लेखेका छन्,‘काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’

सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन उनले सबै संस्थागत विद्यालयहरूलाई भनेका छन्।

उनले तोकिएअनुसार तलब सुविधा प्राप्त नपाए महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *