राजनैतिक संघर्षबाट निखारिएकी कमलाको बेलौरी नगरपालिका बदल्ने अठोट

काठमाडौं । उनी हरेक विद्यार्थी आन्दोलनको अग्र भागमा हुन्थिन्, चाहे ती महेन्द्रनगरमा हुन् वा काठमाडौंमा ।
त्यसअघि कतिपय किसान मार्चमा पनि देखिइन्, महिला आन्दोलनमा पनि बाक्लै हिँडिन । यसो लेख्दा कतिपयले उनलाई उमेर छिप्पिसकेकी प्रोढ ठान्लान । तर, यहाँ उल्लेख गर्न खोजिएको ३४ वर्षिया कमला बोहराको हो ।
जसले नेकपा (एमाले) को तर्फबाट कञ्चनपुरको दक्षिणी क्षेत्रको दोस्रो व्यापारिक केन्द्रसमेत रहेको बेलौरी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छन् ।
सानै उमेरमा पनि लोभलाग्दो राजनीतिक कर्ममा जुटिरहेकी कमलालाई एमालेले विश्वास गरी महत्वपूर्ण पालिकाको मेयरमा टिकट दिएको छ । अब उनी मतदाताको परीक्षणमा छिन ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा लागेकी हुन्, कमला । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सफल भए नगरको मुहार फेर्ने उनी बताउँछिन ।
सुदूरपश्चिम प्रदेशकी उदाउँदो युवा नेतृको रुपमा गनिने कमला बेलौरीमा माओवादी केन्द्र र समाजवादीको गठबन्धनसँग प्रतिस्पर्धा गरिरहेकी छन् । निःशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी उनका मुख्य मुद्दा छन् ।
‘मेयर एक राजनीतिककर्मी मात्र नभएर नगरको विकासको मोडल तयार पार्ने राम्रो व्यवस्थापक हुनुपर्छ,’ उनले भनिन्, ‘त्यो गुण ममा छ, जनतामा आशा जगाउँदै आफ्नो कर्म गरिरहने छु ।’
कुनै बेला कञ्चनपुरको जिल्ला सदरमुकाम थियोे, बेलौरी । महेन्द्रनगर सदरमुकाम सारिएपछि यो ठाउँ ओझेलमा प¥यो । फेरी नगरलाई पूर्ववत अवस्थामा फर्काउने योजना आफूसँग भएको कमलाले बताइन् । त्यसबाहेक मेयर भएर यहाँका महिला, दलित, पिछडिएको वर्ग, थारु, गरिवको जीवन उत्थानमा लाग्ने संकल्प उनले लिएकी छन् ।
जनता वहुमुखी क्याम्पसको स्ववियु सभापति भइसकेकी कमला अब सिंहदरवारको अधिकारलाई गाउँमा व्यहारिक प्रयोग गर्ने ठाउँमा पुग्नका लागि चुनावी मोर्चामा भिडिरहेकी छन् ।
२०१९ सालपछि कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सरेको थियो । दक्षिणी सीमावर्ती भारतसित जोडिएको, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्रको विकासका लागि मतदाताहरुले आफूलाई रोज्नेमा कमला ढुक्क छिन् ।
‘मैले बेलौरीको बेग्लै पहिचान बनाउन मेयर पदमा उम्मेदवारी दिएकी छु,’ उनले भनिन्, ‘सिंहदरवारको अधिकार गाउँघरमा पुगेपनि कार्यान्वयन भएको छैन् । म त्यो निर्णय कार्यान्वयन गराएर नगरमा शिक्षा, स्वास्थ्य निःशुल्क उपलब्ध गराउँछु ।’
अनेरास्ववियुमा कमलाले झण्डै १२ बर्ष काम गरिन् । त्यहाँ हुँदा नै एक पटक केन्द्रीय सदस्य र दुई पटक सचिवालय सदस्यमा सर्वाधिक मत लिएर निर्वाचित भइन् । अनेरास्ववियुमा हुँदा पनि उनी कञ्चनपुरको विकास, निर्माणमा त्यतिकै खटिइन् ।
पछि कञ्चनपुर एमालेमा जोडिन पुगिन् । सुरुमा कञ्चनपुर एमालेको जिल्ला सचिवाल सदस्य हुँदै तत्कालिन नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता भएपछि कमला प्रदेश कमिटी सदस्य भइन् । उनले किसान र महिला फाटमा पनि काम गरिसकेकी छन् ।
एमालेको चितवनमा भएको दशौं महाधिवशेनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी कमला कञ्चनपुर जिल्लाको पार्टी सह–इन्चार्ज पनि हुन् ।
राजनीतिकशास्त्रमा स्नातकोत्तर र कानूनमा एलएलएम गरेकी छन्, उनले । चीनमा एलएलएम गरेर फर्केकी कमलाका लागि जागिरको ढोका खुला थियो । तर, सजिलो बाटो रोजिनन् । राजनीतिक संर्घष मै रमाइन् । अहिले बेलौरी कस्तो बनाउने भन्ने योजना बुनिरहेकी छन् । उनलाई जनताले कत्तिको पत्याउछन्, त्यसका लागि बैशाख ३० कुर्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *