पोखरामा मेरो जित सुनिश्चित भैसक्यो : कृष्ण थापा

काठमाडौं । २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेका एमाले नेता कृष्ण थापा पोखरा महानगरमा फेरि मेयरको उम्मेदवार छन् । ३४ वर्षको उमेरमै पोखराको मेयर बनेका थापाको त्यो कार्यकालमा केही राम्रा कामको थालनी भयो, केही विवादित रहे ।
विद्यार्थी राजनीति हुँदै २०४१ सालदेखि कम्युनिस्ट पार्टीको सदस्यता लिएका थापाको कास्की एमालेमा हक्की र छिटो निर्णय लिन सक्ने नेताको रूपमा चर्चा हुने गरेको छ । पोखरामा दीपक पौडेल टिकट पाइसकेर पनि विवादित बनेपछि उनीबाट खोसेर थापालाई टिकट थमाउनुमा गुटगत राजनीतिको प्रभाव र उनको काम गर्ने शैली तथा हक्की स्वभाव पनि भएको एमालेजन बताउँछन् ।

पृथ्वीनारायण क्याम्पसमा स्ववियु सदस्य, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष हुँदै जनपक्षीय चुनाव परिचालन कमिटी सम्हालेका थापाले पञ्चायत राजकाज मुद्दामा २९ महिना जेल जीवन पनि बिताए । थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष थिए ।

२०५२ सालमा एमाले पोखरा नगर सचिव भएका थापा त्यसको दुई वर्षपछि २०५४ मा पोखराको मेयर बने । २०६५ सालमा एमाले जिल्ला सचिव थापा २०७० मा नवौं जिल्ला अधिवेशनबाट एमाले जिल्ला अध्यक्ष पनि भए । २०७४ मा प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क)बाट कांग्रेस उम्मेदवार गुरु बराललाई हराउँदै सांसद बनेका हुन् । कास्कीमा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी समूहका मानिने थापाले सांसदबाट राजीनामा दिएर दोस्रो पटक पोखराको मेयर बन्ने सपना देखिरहेका छन् । एमालेको बलियो क्षेत्र नै मानिने पोखरामा उनकै पूर्व एमाले सहकर्मी धनराज आचार्य गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन् र यो प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *