धनगढी मेयर : एमालेको तर्फबाट काङ्ग्रेसको विरासत तोड्ने यी हुन् चर्चित अनुहारहरु

धनगढी ! एमालेबाट स्थानीय निर्वाचनका लागि धनगढी उपमहानगरपालिका प्रमुख(मेयर)पदका लागि विभिन्न ह्यावीवेट व्यक्तित्वहरुले आकांक्षा व्यक्त गरेका छन। ती मध्येबाट छानिने एक जनाले  यो पटक जसरीपनि नगरमा सुर्यचिन्ह अंकित झण्डा फहराउने दृढ संकल्प एमाले कैलालीले बोकेको छ। सुदुरपश्चिमको अस्थायी राजधानी र राजनैतिक हव ठानिएको यस् धनगढी उपमहानगरमा एमालेका आकांक्षी मध्ये एक जनतामा भिजेको व्यक्तिले टिकट पाए एमालेको जित सुनिश्चित छ।

सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि देशको प्रमुख पार्टी नेकपा एमालेमा मुलतः ४ जना दरिला आकाङ्क्षीहरु देखिएका छन् । राजनैतिक जीवनमा विभिन्न आरोह-अवरोहहरु पार गरेका उनिहरुले हिजो एमाले धनगढी उपमहानगरको बैठकबाट नगर प्रमुखमा आ-आफ्नो उम्मेदवारी हुने आकांक्षा व्यक्त गरेको जनाइएको छ।
प्रमुख(मेयर)पदमा आकांक्षी मध्ये पहिलो नाम हो-जीवन बम। नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका बम सुदुरपश्चिममा एमालेका हस्ती हुन् । लामो समय राजनैतिक एवं सामाजिक कार्यमा आफ्नो समय व्यतित गरेका उनलाई मेयरको दरिलो उम्मेदवारको रुपमा हेरिएको छ।
त्यसैगरी एमालेमा सरल स्वभावका धनीका रुपमा चिनिने केन्द्रिय निर्वाचन विभाग सदस्य रण बहादुर चन्द अर्का आकांक्षी रहेको जनाइएको छ । चन्द एमाले कैलालीमा अति चर्चित नाम हो। सरल स्वभाव र अवसर नपाएका मध्येमा पर्ने उनी कार्यकर्ता र जनतामाझ लोकप्रिय छन् । एमालेको गत जिल्ला अधिवेशनमा अध्यक्ष पदमा ४ मतले पराजित उनलाई मेयर पदका लागि अर्को दरिलो पात्रको रुपमा हेरिएको छ।
त्यसैगरी स्थानिय जनतामाझ लोकप्रिय अर्का आकांक्षी राजेश खाती रहेको बताइएको छ। एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका खाती हाल शिवनगर खानेपानी संस्थाका अध्यक्ष समेत हुन् । राजनैतिक एवं सामाजिक कार्यमा तल्लीन रहने उनलाई पनि मेयरको दरिलो पात्रको रुपमा हेरिएको छ।
त्यसैगरी धनगढीको मेयर पदमा एमाले जिल्ला कमिटी उपाध्यक्ष दुर्गा जोशीले पनि आफ्नो दावेदारी प्रस्तुत गरेको जनाइएको छ । जोशी गत निर्वाचनमा पनि एमालेको तर्फबाट मेयर पदको उम्मेदवार थिए। सेती प्रादेशिक अस्पतालको अध्यक्ष भै जनताको सेवा गरेका उनले यसपटक विगतको भन्दा फरक जनमत प्रभाव पार्ने आकलन सहित उम्मेदवारी घोषणा गरेको बताइएको छ।
धनगढी मेयर पदका लागि एमालेका तर्फबाट केही अरुले पनि आकांक्षा राखेपनि पार्टीमा योगदान र क्षमताको हिसाबले माथी उल्लेखित ४ जनाबाटै एक जनाले मेयरको टिकट पाउने संभावना पनि देखिन्छ। नगरको प्रस्तावमा जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिस हुँदै केन्द्रिय कमिटीले नाम टुंगो लगाउने एमालेले जनाएको छ।

माथी उल्लेखित नामहरु बाटै उम्मेदवार सिफारिस गर्न पार्टी अध्यक्ष तथा प्रदेश इन्चार्ज लगायतका नेताहरुपनि सहमत भैसकेको स्रोतले जनाएको छ। एकजना चर्चित अनुहारको नाममा सहमती जुटाइ पार्टीलाई एक मनले निर्वाचनमा होमाउन नेतृत्व दृढ छ-सभ्यखबरलाई विशेष स्रोतले भन्यो।  एमाले कैलालीले यो पटक जसरी पनि धनगढी उपमहानगरपालिकामा आफ्नो झण्डा फहराउने संकल्प राखेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *