मेयर विष्टद्रारा पिपरैया खोला पुलको उद्घाटन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित पिपरैया खोलामा बनेको पुलको उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले मंगलवार पुलको उद्घाटन गरेका छन् ।
दोधाराचाँदनी झोलुङ्गे पुल र महाकाली नदीमाथिको निर्माणाधीन पक्की पुल जोड्ने गरी बनेको पिपरैया पुलबाट पर्यटक र स्थानीयलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ।
पुल निर्माणका लागि भीमदत्त नगरपालिकाले १ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर ठेक्का प्रक्रियाका बेला घटाघटका क्रममा ठेकेदार कम्पनी ध्रुव कन्सट्रक्सनले ८५ लाख ६१ हजार रुपैयाँमा कबोल गरेको थियो ।
पुल निर्माणका लागि २०७८ जेठ २४ गते ठेक्का सम्झौता भएको हो । निर्माणअवधि १ वर्ष तोकिएको भए पनि ठेकेदार कम्पनीले निर्धारित समयअगावै काम सम्पन्न गरेको छ ।
पुल निमार्ण भएपछि स्थानीय हर्षित भएका छन् । स्थानीय राम बहादुर बाेहराले नगर प्रमुख विष्टकाे नेतृत्व थुप्रै विकास निमार्ण कार्य भएकाे उल्लेख गर्दै पार्टी जुन सुकै भएपनि राम्रो कामकाे सबैले प्रशंसा गर्नु पर्ने बताए ।
त्यस्तै  पुल निर्माण सम्पन्न भएपछि डीपीआर बनाएको भनेर केहीले अफवाह फैलाएकोप्रति भने स्थानीयले आक्रोश पोखेका छन् । ‘ पुल ठेक्का सम्झौता अघिनै डीपीआर भइसकेको हो । सबै नियमसंगत नै भएको छ तर अफवाह फैलाउने काम भइरहेको छ,’ वडाध्यक्ष लाल बहादुर शाहीले भने, ‘सबै स्थानीयले ठीक छ भनिरहेका छन्, केही व्यक्तिले नचाहिने कुरा लेखेका छन्, त्यो वाहियात हो ।’
भीमदत्त नगरपालिकाको चक्रपथ र पर्यटन क्षेत्रलाई जोड्न पुल महत्त्वपूर्ण उपलब्धि रहेको मेयर विष्टले बताए । स्थानीय वासिन्दाले थप तटबन्ध माग गरेपछि मेयर विष्टले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *