सरकारले फोहोर विसर्जनको दीर्घकालीन समाधान नखोजे समस्या हुन्छ : मेयर शाक्य

काठमाडौं ! काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहर विसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्न नसके आगामी दिनमा थप समस्या सिर्जना हुने बताउनु भएको छ ।

पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्ड फिल्ड साइटमा फोहर विसर्जनमा अवरोध गरेपछि संघीय सरकारको ध्यानाकर्षण गर्दै दीर्घकालीन समाधानको आवश्यक रहेको उहाँले बताउनु भयो । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटक-पटक समस्या उत्पन्न भएको प्रमुख शाक्यको भनाइ छ ।

उहाँले विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक-पटक स्थानीयले आन्दोलन गर्ने र फोहर विसर्जनमा अवरोध हुने गरेको स्मरण गराउनु भयो । ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि सबैभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *