महानगरका सबै वडा कार्यालय नेपाली मौलिकता झल्किने र एकै स्वरुपका बन्नेछन् : मेयर शाक्य

काठमाडौं ! काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुनर्निर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन्। वडा–२७ को वडा भवन शिलान्यास गर्ने सिलसिलामा उनले यस्तो बताएका हुन्।

‘२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो,’ शाक्यले भने, ‘महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक संरचनालाई अहिलेको आवश्यकताअनुसार सेवामैत्री बनाउने र जहाँ भवन छैनन् त्यहाँ नयाँ भवन निर्माण गर्ने नीति नै लिएको थियो। पहिलो बैठकबाट गरेको त्यो निर्णय अहिले हाम्रै कार्यकालमा कार्यान्वयनको चरणमा छ। कतै सार्वजनिक र केही आफ्नै स्वामित्वमा रहेका जग्गामा भवन निर्माण गरिरहेका छौँ। केही ठाउँमा स्थानीयसँग सहकार्य गरेर पनि अघि बढेका छौँ।’

शाक्यले अहिलेको कार्यकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुनर्निर्माणका लागि स्वर्णयुग भएको पनि स्मरण गरे।  ‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुनर्निर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ शाक्यले भने, ‘अहिले जति सम्पदा निर्माण–पुनर्निर्माणको काम यसअघि भएको थिएन। हामी गौरवका साथ भन्न सक्छौँ। हाम्रो पालामा जति सम्पदा निर्माण, पुनर्निर्माणको काम यसअघिका जनप्रतिनिधिबाट भएको थिएन।’

शाक्यले काठमाडौं महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि जानकारी दिए। ‘हामीले निर्माण गरेका र गर्ने तयारी गरेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ,’ उनले भने, ‘भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ।’ महानगरका अनुसार ६ वटा वडा भवनबाट सेवा सुरु भएको, १० वटा निर्माण र खरिद प्रक्रियामा रहेको र ६ वटाको स्तरोन्नती भइरहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *