मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

काठमाडौं । काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढीपहिरोले आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले पूर्वसावधानीपूर्वक पानीको वितरण कार्य रोकिने जानकारी दिए ।

उनले कहिलेदेखि कहिलेसम्म मनसुन सक्रिय हुनेबारे मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरूसँग छलफल गरेर पानीको वितरण कार्य रोकिने बताए ।

गत वर्ष असार १ गते नै मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्सलगायतको संंरचनामा ठूलो क्षति पुगेको स्मरण गर्दै उनले यो वर्ष आयोजनाले थप सतर्कता अपनाउन खोजेको स्पष्ट पारे । उनले भने, “अहिले अस्थायी संरचनाबाट परीक्षणका रूपमा मेलम्चीको पानी काठमाडौँ पठाइएको हो ।

पुनः बाढीपहिरो आयो भने सुरुङहरू पुरिन सक्छन् । बीस वर्षको लगानी स्वाहा हुन सक्छ । त्यसैले पानीको वितरण रोकिन लागिएको हो ।”

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *