संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं- सहकारी ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक अहिले ९ बजे बस्दैछ । बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको नेपाली कांग्रेसका सांसद जीवन परियारले जानकारी दिनुभयो । हिजो बस्ने भनिएको बैठक बस्न सकेन ।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । आइतबार लामो समय छलफल भए पनि सहमति हुन सकेन । यही विवादका कारण संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ भने संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

हिजै बस्नुपर्ने बैठक आजको लागि बोलाईएको बताउनुहुँदै कार्यादेशमा सहमति भएमात्रै आजको बैठक सुचारु हुने नेता परियारले बताउनुभयो । गत शनिबार सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारीको बचत ठगी, हिनामिना, अपचलन, दुरुपयोगबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो ।

कार्यादेश टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा नेपाली कांग्रेसका जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेको कार्यदल समेत बनाईएको छ ।